उपप्रधानमन्त्री पोखरेललाई गुरु भट्टराईको पत्र ‘कोरोना सँग लडाईं बोकाले दाँइ नहोस् ‘


माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल ज्यु ! सिसिएमसिले जिम्मेवार पदाधिकारीको कार्य क्षमता र ज्ञान कति बुझ्छ, कति ख्याल गर्छ थाहा छैन । तर मैले बारम्बार गम्भीर कमजोरी र समस्याहरू हाइलाइट गर्ने प्रयास गर्दै आएको छु । संसार कोरोना भाइरसले आक्रान्त हुँदा नेपालसँग खुला सिमा भएका,े खुला बोर्डर रहेको १३० करोड आवादि रहेको छिमेकी मुलुक भारतमा लकडाउन एउटा फगत मजाक बनेको तस्वीर हाम्रा सामु छ । भनिरहनु पर्दैन लगभग ८ करोड भारतिय सडकमा आउँदा यसले सिंगो भारतलाइ कोरोनाको खानि बनाइसक्यो । नेपालमा पछिल्लो समय संक्रमितहरु ह्वात्तै बढ्नुमा भारतबाट आएकाहरु र तिसँग सम्पर्कमा आएका मान्छेहरुमा देखिएको छ ।
यसले हामीमा सम्झौता विहिन उच्चस्तरको थप सतर्कताको माग गर्छ भन्ने अनुमान यो भन्दा बढी सत्य हुनै सक्दैन । अझ काठमाण्डौका बिभिन्न १० स्थानमा देखिएका संक्रमितहरू कोसंग सम्पर्कमा आएकाले संक्रमित भए भन्ने कुरा अज्ञात छ । विश्वको संक्रमण ट्रेन्ड र बिश्व स्वास्थ्य संगठनले परिभाषित गरेको कुरा मात्रै मनन गर्ने हो भने यसरी अज्ञात संक्रमितबाट कसैलाइ संक्रमण हुने तस्वीरको स्पष्ट अर्थ हुन्छ संक्रमण समुदाय स्तरमा पुगिसकेको छ ।

मैले यसो भन्दा त्रास फैलायो भनेर कारबाही गर्ने कुरा न उठोस, मैले बुझेको त्यही कुरा इपिडेमिओलजिस्ट बिशेषज्ञहरुले समेत भनिरहेका छन । त्रास फैलिन्छ भनेर हामी तथ्य ढाकछोप तिर लाग्यौ भने अथवा पर्याप्त अटेन्सन पुगेन भने पनि परिस्थिति हाम्रो हातबाट बाहिर पुग्नेछ । हाम्रो मुलुकको सामान्य अवस्थाको स्वास्थ्य सेवा त दयनिय छ भने ठुलो क्राइसिस त यसले विलकुल धान्न सक्दैन । यसको एउटै उपाय होस हामी समयमा पर्याप्त तयारी गरौ, र भाइरसँग सम्बन्धित विशेषज्ञको सल्लाह र सुझाव मनन गरेर कार्ययोजना बनाऔं ।

माथि उल्लेख परिस्थितिमा स्वास्थ्य मन्त्रालय जो यस महामारि बिरुद्ध लड्नु पर्ने तालुकदार मन्त्रालय हो, त्यहाँ स्वास्थ्यमन्त्री नन डाक्टर हुनुहुन्छ, तर कोइ बात छैन, उहाँले राजनितिक नेतृत्व दिने हो, त्यो दिईरहनु भएको छ, ठुलो समस्या भएन । तर यस प्रकृयामा प्रत्यक्ष काम गर्नु पर्ने सचिव मेडिकल डाक्टर हैनन, स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मेडिकल डाक्टर हैनन, महामारीसंग सम्बन्धित स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार खेम बहादुर कार्कि (यौन रोगको जिज्ञासामा लेख्ने? MBBS, MPH ) पनि इपिडेमिओलजिस्ट हैनन । प्रवक्ता विकास देवकोटा तथा सह प्रवक्ता समिर अधिकारी लगायत पनि इपिडेमिओलजिस्ट हैनन । अनि संसारसँगै हामीले बेहोरिरहेको स्वाथ्य समस्या १०० प्रतिशत भाइरससँग सम्बन्धित छ । इपिडेमिओलोजीसँग सम्बन्धित छ, त्यो पनि अज्ञात चरित्रको भाइरससँग सम्बन्धित । स्वास्थ्य सेवा बिभागमा यसको नेतृत्व गर्ने टिममा एकजना पनि इपिडेमिओलजिस्ट नहुनुले कोरोनाले हामीलाइ कहाँ पुर्याउला म कल्पना गर्न पनि असमर्थ छु । हाइ स्पड बुलेट ट्रेन चलाउनेले हवाइजहाज किन उडाउन सक्दैन भन्ने बुझाइ हो कि?

कोही सम्बन्धित बिषयको विज्ञ नभएपनि परिणाम राम्रो दिन सक्ने अद्भुत मानव हुन पनि सक्लान, यस्तो चमत्कारिक अपेक्षा हो भने त्यो भिन्न कुरा हो । महामारीको यो समयमा त्यो खालको असाधारण पर्फेक्सन पनि देखिएको छैन । हामी अवस्था अनियन्त्रित भएपछी मात्रै कमजोरीको खोजी गरेर पश्चाताप गर्ने कि, स्याल मार्न बाघको खजाना तयार गरेर बस्ने हो भन्ने प्रश्न गर्नु पर्ने बेला आएको छ । कोरोना भाइरसले दुनियामा संक्रमणको जुन प्रकृति देखाइरहेको छ, त्यो नेपालमा चै पक्का अपबाद ठहरिन्छ भन्ने मान्ने हो भने भन्नु केही छैन । तर दुनियालाइ घुँडा धसाउने कोरोना महामारीसंग जुध्न हामी “बोकाले दाँइ गर्ने” खालको असफल प्रयास किन गरिरहेका छौ, मैले बुझेको छैन ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञको यो बिबिसी अन्तरवार्ता सुनेपछि एउटा सचेत नागरिकको हिसाबले मलाइ चै डर लागेको छ कि परिस्थिति हाम्रो हातबाट उम्किदै त छैन? भाइरस नै नबुझेको मान्छेलाइ सल्लाकार राखेर कसरी भाइरससंग लडिन्छ, विचित्र लाग्छ । हाडको डाक्टरलाइ मुटु चिर्न लगाए के हुन्छ ? यति बुझ्न कठिन त नहुनु पर्ने हो । सरकारी जागीरको क्याडरबाट नन इपिडेमिओलजिस्ट मन्त्रालयको जिम्मेबारीमा आए होलान, फरक प्रकृतिको महामारी देखिए पिछे पदाधिकारी फेर्ने कुरा जायज नहोला त्यो बुझिन्छ ।

तर त्यसो हो भने यो बिशेष परिस्थितिमा रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकहरुको एउटा टिम बाहिरबाट नियुक्त गरेर भएपनि सिसिएमसि तथा मन्त्रालयका प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वलाइ सल्लाह दिने, रणनीति बनाइदिने काममा लगाउन त सकिन्छ? त्यसै अनुसार फलो गर्न त सकिन्छ नि । त्यो गर्न सरकारलाइ के ले रोकेको छ? त्यो टिमलाइ स्वास्थ्य मन्त्रालय अन्तरगत हैन, सिसिएमसि अन्तरगत राख्न जरुरी हुन्छ । नत्र करारमा जागीर खाने डाक्टर जावोको कुरा सुन्ने हो? भनेर केही समय अघि अर्थशास्त्र (अनुमान) पढेका सचीवले एकजना डाक्टरको जागीर खाइ दिने धम्कि दिएको पनि दुनियाले सुने । हामी राँगो चढेर अमेरिका पुग्न सक्दैनौ, त्यो पक्का कुरा हो ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य बिज्ञले केहि समय अघि नेपालमा कोरोना भाइरस संक्रमणको दैनिक अधिकतम संख्या ४५ हुनेछ, र त्यो छोटो समयमा नै शुन्यतिर ओरालो लाग्नेछ भनेर कसैले संजालमा पोस्ट गरेको प्रक्षेपणलाइ विज्ञ डाक्टर (यौेन रोग बिशेषण) साबले के के भेटियो भन्दै “I am fully agree with you; Please come and meet me, provide me the details info so that I can talk to my team” भनेर लेखे । यस्तो पढेपछी मलाइ लाग्यो उनले नेतृत्वलाइ मिसगाइड गर्ने भए । मैले म चिकित्सक नभएपनि विश्वको ट्रेन्डलाइ नियालिरहेको आधारमा भने( यस्ता हावादारी प्रक्षेपणको भरमा नपरौ, यो त मान्छे सोत्तर बनाउने तरिका हो भनेर भनेको थिए। आज परिणाम के देखिरहिएको छ? मेरो बुझाइ बिलकुल सही ठाउँमा रहेको पुष्टी हुदैछ । आज दिनमा झन्डै ६० जना संक्रमणको स्थिति देखिएको छ, यो बढ्ने क्रममा छ र अझै धेरै हेर्न बाँकि छ भन्ने कुरा छ्याङग भएको छ। यसले देखाउछ मन्त्रालय नेतृत्व कुन स्तरको बुझाइ र तयारीमा छ भन्ने कुरा ।

अर्को कुरा भारत लगायत अन्य मुलुकबाट पनि नेपाली भित्र्याउने निर्णय भएको छ । तर कन्ट्याक्ट ट्रेसिङको अझै बेहाल छ । मेरो पटक पटकको ध्यानाकर्षणमा गत शनिवार उपप्रमले ट्रेसिङ एप लन्च गर्नु भएको सुने तर त्यसको जानकारी समेत नागरिकलाई दिइएको पाइएन । त्यसको प्रयोगको कुरा त परै जावस । त्यो एप कहाँ छ भन्ने मलाइ पनि थाहा छैन । पुरानो काम नलाग्ने र अत्यन्त बेसिक एपलाइ जुँगाको सवाल बनाइएको छ मन्त्रालयको नेतृत्वबाट । एडभान्स एप लन्च गरेर प्रयोग गर्ने कुनै तदारुकता पनि देखिएन । यदि हामी ट्रेसिङका सवालमा सचेत भएनौ भने यसले ठुलो दुर्घटना निम्त्याउने निस्चित छ ।

यो मेरो कसैप्रतिको आग्रह वा पुर्वाग्रह हैन । राज्य संभावित दुर्घटनाबाट बचोस, हामी नेपाली बाँचौ भन्ने हो । आगे सरकारको मर्जी ।

प्रतिक्रिया दिनुहोस