समावेशिताको नाउमा बढी योग्यता र क्षमताकालाई फालेर कम योग्यता र क्षमताका लाई अवशर दिनु पनि राष्ट्र , जनता र समाज द्रोह हो


केशव प्रसाद भट्टराई

@kpbnepal

पोस्ट ट्रुथ युगको हाम्रो राजनीति र कूटनीति

१. १९९२मा पहिलो पटक प्रयोगमा आएको मानिएको पोस्ट ट्रुथ शव्द २०१० देखि अलीअली प्रयोगमा पनि आउन थाल्यो र

सन २०१६मा आएर अङ्ग्रेजी भाषामा सवैभन्दा बढी प्रयोगमा आएको शव्द बन्यो I

सन् २०१६मा अक्सफोर्ड डिक्सनेरीको सम्पादक मण्डलले यो शव्दलाई उक्त वर्षको अन्तर्राष्ट्रिय शव्द समेत घोषणा गरेको थियो I

अक्सफोर्ड सम्पादक मण्डलका अनुसार सन् २०१५को तुलनामा सन् २०१६मा संसारभरी यो शव्दको प्रयोगमा दुई हजार प्रतिशतले वृद्धि भएको थियो I

अमेरिकामा राष्ट्रपति ट्रंपको निर्वाचन अघि र पछिका उनका अभिव्यक्तिहरू र उनको समर्थन वा विरोधमा प्रयुक्त शव्द, तर्क, लेख, रचनाहरूलाई पोस्ट ट्रुथ विचार भन्न थालियो I

सामान्य अर्थमा पोस्ट ट्रुथ भनेको राजनीतिमा सत्य, तथ्यमा आधरित भएर विवेकपूर्ण विचार विष्लेषण प्रवाह गर्नु भन्दा मानिसका झूठ र भ्रममा आधारित भावनात्मक आवेग, कुण्ठा, आग्रहमा आधारित विचार, दृष्टिकोण र विश्लेषण प्रवाह गरेर जनतालाई भड्काउने र जनमतलाई आफ्नो पक्षमा पर्ने राजनीतिक संस्कार र चरित्र हो I

*****

२. शव्द पोस्ट ट्रुथ १९९२ देखि प्रचलनमा आए पनि यसले प्रतिनिधित्व गर्ने राजनीतिक चरित्र भने पुरानै हो I

हिटलर, मुसोलिनी, स्टालिन, माओ सवैले आफ्नो राजनीतिक शक्ति आर्जन गर्न पोस्ट ट्रुथ राजनीतिक संस्कारकै अभ्यास गरे I

नेपालका कम्युनिस्टहरूले आफ्नो राजनीतिक शक्ति आर्जन गर्नमा त्यसैलाई अनुशरण गरे I

राजा र काङ्ग्रेसका कुरै छोडौँ पुष्पलाल, मनमोहन, निर्मल लामा र मोहन विक्रमसम्मका विरूद्ध उनीहरूले हिजो भनेका -लेखेका कुरा उनीहरूकै अभिलेखमा सुरक्षित छन् I

*****

३. बाँचुन्जेल वीपी विरूद्ध उनीहरूले पोस्ट ट्रुथ राजनीतिक आक्रमण गरिरहे ,

जीवनको अन्तिम कालखण्डमा कम्युनिस्टहरू समक्ष राजनीतिक आत्मसमर्पण गर्न नआउन्जेल गिरिजा प्रसाद विरूद्ध उनीहरू कुन स्तरमा उत्रिएका थिए सवैलाई ज्ञात नै छ I

कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराउन के के सम्म गरियो भनेर केशव स्थापितले भनेका कुरा आइरहेकै छन् I

आज राजा वीरेन्द्रको लागि गोहीको आँशु बगाउने उनीहरूले २०४६ सालको आन्दोलनताका राजा वीरेन्द्र र राजपरिवार विरूद्ध “भण्डाफोर” शीर्षकको प्रकाशन मार्फत कस्तो घृणा र दुष्प्रचार फैलाउने गर्दथे त्यो पनि मानिसहरूको स्मृतिमा छँदै छ I

मरिचमानहरू पनि त्यसको शिकार भएकै हुन् I

*****

४. माओवादीहरूको समग्र बल पोस्ट ट्रुथ राजनीति थियो I

जाती, धर्म, सम्प्रदाय, गणतन्त्र, धर्म निरपेक्षता,संघियता बारेका उनीहरूका धारणा र रणनीति पनि पोस्ट ट्रुथ नै थिए I

राजा ज्ञानेन्द्र विरूद्ध त्यही रणनीति अङ्गिकार गरियो I

नेपालको राष्ट्रिय पहिचान विरूद्ध पोस्ट ट्रुथ आक्रमण गरियो I

संघियता, धर्म निरपेक्षता र गणतन्त्रको लागि पोस्ट ट्रुथ राजनीति अवलम्वन गरियो I

आज मधेश केन्द्रित र जातिवादी दलहरू पोस्ट ट्रुथ राजनीति धानिरहेका छन् I

*****

५. त्यो पोस्ट ट्रुथ राजनीतिलाई भारतले सघायो, युरोप र अमेरिकाले पनि सघाए I

आज राजा रहेनन् !

पोस्ट ट्रुथ राजनीति विरूद्ध काङ्ग्रेस राजनीतिक रूपमा उभिने र अडिने हिम्मत नै गरिरहेको छैन I

त्यसैले कहिले प्रधानमन्त्री ओली पोस्ट ट्रुथ राजनीतिक आक्रमणको शिकार हुन्छन् र त्यसबाट जोगिन त्यस्तै रणनीति अङ्गिकार गर्न पुग्छन् I

*****

६. डरलाग्दो कुरो के हो भने हामी छिमेकी र अन्य मित्रराष्ट्रहरू विरूद्ध पनि पोस्ट ट्रुथ रणनीति अङ्गीकार गरिरहेका छौँ I

हाम्रो जस्तो साधन, स्रोत र क्षमताको मुलुकको सुरक्षा , समृद्धि, राष्ट्रिय एकता र अखण्डताको संरक्षणको एक मात्र बल भनेको सन्तुलित र मर्यादित परराष्ट्र नीति मात्रै हो I

कूटनीतिक ज्ञान र कौशल मात्रै हो I

तर हामी पोस्ट ट्रुथ कूटनीति अवलम्वन गरिरहेका छौँ I

*****

७. के ठिक र के बेठिक को अन्तिम छिनोफानो परिणामले सावित गर्ने गर्दछ I

विजयका हजार बाबु हुन्छन र पराजय अनाथ र टुहुरो हुन्छ भनेर त्यसै भन्ने गरिएको होइन I

संसारमा पराजयको मात्रै कारण खोजिन्छ, विजयलाई दोषमुक्त बनाइन्छ I

——

परिस्थितिमा ठूलो तात्विक अन्तर नहुँदैको अवस्थामा एकै साथ भारत र अमेरिका जस्ता मुलुकसँगका सम्वन्धका हकमा हरेक सात दश दिन र एकाध महिनामा हामीले अवलम्वन गर्ने नीतिमा देखिने आकाश र पातालको अन्तरको औचित्य पोस्ट ट्रुथ राजनीतिले बुझ्ला तर विवेक र विश्वासको राजनीतिले बुझ्दैन I

त्यसको दवाव र प्रभावमा नेपालको राजनीति मात्र होइन,नागरिक अभियन्ताहरू, वौद्धिक, पेशागत र मिडिया क्षेत्र पनि लाचार र मौन छ, किम कर्तव्य विमूढ छ र झन् उग्र पोस्ट ट्रुथ राजनीति र नारावाजीलाई सघाइरहेको छ I

सम्पूर्ण देशनै यसको बन्दी छ I

यो रणनीतिमा पराजयको मूल्य मुलुकले धान्न सक्ला नसक्ला सवाल यो मात्रै हो I

*****

८. विश्वका विभिन्न सफल मुलुकका उदाहरण अनुसार

——-

८. १. जनतालाई राज्यको स्वामित्व दिने राज्य व्यवस्था भनेको प्रजातन्त्र मात्रै हो , वास्तविक र सार्थक प्रजातन्त्र I

त्यस्तो प्रजातन्त्र राज्यको मेरूदण्ड हो I

सवैका लागि न्याय त्यस्तो प्रजातन्त्रको आत्मा हो I

त्यसदेखि बाहेकका सवै वैचारिक हत्कडीहरू, नेल र ठिङ्गुराहरू, मानसिक उल्झन, विचलन र बन्धनहरूलाई तोडेर अत्यन्त व्यवहारिक राजनीति र विदेश नीति नै राष्ट्रिय सुरक्षा ,एकता र समृद्धिको आधार देखिएको छ I

—–

८ .२. एउटा अतिवादबाट ग्रस्त र राष्ट्रिय सुरक्षा संकट र असुरक्षित भविष्यलाई सामना गरिरहेको मुलुकले मुलुकलाई ठिक बाटोमा लैजान,

भीरबाट खस्न लागेको गाडीलाई पुन सुरक्षित अवस्थामा ल्याउन अर्थात ठूलो संकटबाट मुलुकलाई पार लगाउन विश्वका विभिन्न सफल मुलुकहरूका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले केही अति कठिन, जोखिमयुक्त र अतिवादी साहश पनि प्रदर्शन गर्ने गरेका छन् I

—–

८.३. राज्य संचालकहरूले राज्यको रक्षा, जनताको रक्षा, शासन प्रणालीको रक्षाको लागि सवैको वरिपरी एउटा सुरक्षा घेरो, सुरक्षा बार वा सुरक्षा पर्खाल निर्माण गरेका हुन्छन् I

आफू कतै अल्झियो भन्दैमा त्यस्तो घेरा, बार वा पर्खाल नै भत्काउने कार्य जिम्मेवार मुलुक, सरकार र दलहरूले गरेका देखिन्नन् I

—–

८.४. मुलुकका सबैलाई एकै साथ सबै कुरा उपलव्ध गराउन सकिन्न, सम्भव हुन्न I

एक माना दुध सय जनालाई आचमनीले पन्चामृत बाँडे जसरी बाड्न पनि पुग्दैन ,

त्यसैले एक माना दुध बराबरी बाड्ने समाजवाद होइन,

पहिला एक सय माना दुध उत्पादन गर्ने र हरेकलाई एक एक माना नभए पनि आधा आधा माना दुध बाड्ने समाजवादको कुरो वीपी कोइरालाले गरेका हुन् I

एक माना दुधको ठाउँमा सय माना दुध उत्पादन गर्ने व्यवस्था पूँजीवादमा मात्रै सम्भव छ I

समाजवादले त त्यो एक मानालाई आधा माना, चौथाई हुँदै दुध उत्पादनलाई शून्यमा लगेको देखिएको छ I

त्यसैले एक माना दुधको ठाउँमा सय माना दुध उत्पादन गर्ने व्यवस्था भनेको पूँजीवाद हो अनि त्यो सय माना दूधलाई सय जनाकै भागमा पुर्याउने समाजवाद ल्याउन सकिन्छ I

मार्क्सले भनेको समाजवाद त त्यही हो I

—–

८. ५. अनि अन्त्यमा, मुलुकमा भए मध्येका श्रेष्ठ योग्यता, क्षमता र निष्ठाका व्यक्तिबाट सेवा पाउने जनताको अदेय र अकुण्ठित अधिकार हो I

कुनै जात,धर्म, वर्ण र लिङ्गको आधारमा कम योग्य र सक्षम व्यक्तिबाट जनतालाई स्वास्थ्य, शिक्षा, सुरक्षा वा अन्य सेवा लिन वाध्य बनाइने व्यवस्था स्वयममा अन्यायपूर्ण, अविवेकपूर्ण र अप्रजातान्त्रिक व्यवस्था हो I

त्यो राजनीतिक पाखण्ड हो I

त्यो समाजवाद पनि होइन र समावेशी पनि होइन , समावेशिताको अपमान र अवमूल्यन हो I

त्यही हो जातिवाद भनेको I

पछाडि परेको वर्गलाई शिक्षा, स्वास्थ वा सुरक्षाको उन्नत अवशर दिएर समानताको आधारमा समान भएर प्रतिष्पर्धी हुने अवशर प्रदान गर्नु हो समावेशिता I

समावेशिताको नाउमा बढी योग्यता र क्षमताकालाई फालेर कम योग्यता र क्षमताका लाई अवशर दिनु पनि राष्ट्र , जनता र समाज द्रोह हो I

त्यो पोस्ट ट्रुथ समावेशिता हो I

प्रतिक्रिया दिनुहोस