आत्महत्याको लागि दुरुत्साहन के हो?


-उमेश दुलाल

पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटना र त्यसपछि विकसित घटनाक्रमले नेपाली समाजमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८५ मा भएको प्रावधान माथि बहस हुन थालेको छ। मुलुकी अपराध संहिताको दफा १८५ मा “कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने परिस्थिती खडा गर्न वा गराउन हुँदैन” भनिएको छ।

एकथरी मानिस आत्महत्या गर्नु पुर्व आत्महत्या गर्ने ब्याक्तीले कसैलाई दोष देखाएकै आधारमा सजाय हुन थाल्यो भने यो कानुनको दुरुपयोग बढ्छ भन्ने तर्क गरि रहेका छन भने अर्को तिर आफ्नो ज्यान आफै लिन बाध्य पारिँदा पनि पिडकलाई कानुन बमोजिम कारबाही गरिएन भने त्यसले संविधानको धारा १६ ले दिएको नागरिकको सम्मानपुर्वक बाँच्न पाउने हकलाई कुन्ठित गर्छ भन्ने तर्क गर्छन। यी दुबै तर्कमा सत्यता छ, त्यसैले यो कानुनमा बारेमा समाजमा रहेको भ्रमलाई चिर्न आवस्यक देखिन्छ।

आत्महत्याका लाई दुरुत्साहन गर्नु भनेको के हो ?
नेपालमा यो कानुन लागु भएको करिब एक बर्ष मात्र भएकाले यो दफाको अहिले सम्म अदालतबाट कानुन ब्याख्या भएको छैन। तर भारतमा यो कानुन लामो समय देखि लागु भएको छ। त्यसैले भारतिय अदालतबाट यस विषयमा भएका केहि महत्वपुर्ण फैसलाका आधारमा रहि “आत्महत्याका लागि दुरुत्साहन गर्नु“ को कानुनी ब्यख्या गर्न प्रयास गरिएको छ। भारतिय अदालतले गरेका फैसला नेपाली अदालतलाई बाध्यकारी छैन, यी फैसलालाई विषयबस्तु बुझ्नको लागि मात्र प्रयोग गरिएको हो।

कसैले आत्महत्या गर्दा कसैको नाम उल्लेख गरेको कराणबाट कसै माथि यो दफा आर्कषित हुनका लागि उक्त मृत्युमा निम्न तिनकुराको आवस्यकता पर्दछ।
१.व्यक्तीले आत्महत्या गरेको हुनु पर्दछ।

२.आत्महत्याका लागि कसैले उसलाई दुरुत्साहन गरेको हुनु पर्दछ। नेपाली बृहत शब्दकोषका अनुसार दुरुत्साहनको अर्थ “अरुलाई कानूनी वा नैतिक दृष्टिले अवैध वा खराब काम गर्न प्रोत्साहित गर्नु“ हो। प्रोत्साहनको अर्थ “कसैलाई कुनै कार्य गर्न हौसला दिने कार्य“ हो। त्यसैले दुरुत्साहन एउटा मानसिक प्रकृया हो, जस्मा पिडकले पिडितलाई लामो समयदेखि आत्महत्या गर्नको लागि बाध्य पार्ने वा प्रोत्साहित गर्ने कार्य गर्दछ। दुरुत्साहनको अर्को मुख्य तत्व mens rea अर्थात अपराधिक नियत हो। कुनै कार्यले कसैलाई प्रताडित गर्छ भन्ने जाँनबुझी त्यस्तो कार्य गरिन्छ भने त्यस्तो कार्यमा mens rea अर्थात अपराधिक नियत हुने गर्दछ। त्यसैले क्षणिक आवेगमा दिइएका अभिव्यक्ती वा धम्कीका आधारमा कसैले आत्महत्या गर्छ भने गर्ने त्यो आत्महत्यामा यो दफा आर्कषित हुँदैन किनकी त्यसमा मानसिक प्रकृया र अपाराधिक नियतको अभाव हुन्छ। (रमेश कुमार विरुद्ध छत्तिसगढ राज्य)

३. दुरुत्साहन र आत्महत्याको प्रत्यक्ष सम्बन्ध हुन जरुरी हुन्छ। श्रीमान श्रीमतिका बिचमा घर झगडा भईरहेने कारणबाट कसैले आत्महत्या गर्छ भने त्यसलाई दुरुत्साहन भन्न मिल्दैन किनकी घर झगडाले कसैलाई आत्महत्या गर्न बाध्य पारेको हुँदैन। (जगन्नाथ मोण्डल विरुद्ध पश्चिम बंगाल राज्य)। तर कुनै कुरा जस्तो दाइजो वा सन्तान प्राप्तीको कुरालाई लिएर कसै माथि होच्याउने, धम्की दिने, मानमर्दन गरी लगातार प्रताडित गरिन्छ भने त्यस्तो अवस्थामा यो दफा आर्कषित हुन सक्दछ।

मुख्य कुरा यहाँ के बुझ्न जरुरी छ भने यदी कसैको कार्यले गर्दा आत्महत्या गर्ने व्यक्तीले आफ्नो सामाजिक इज्जत, प्रतिष्ठा बचाएर बाँच्न नसक्ने अवस्था श्रृजित गरिन्छ भने त्यस्तो कार्य आत्महत्याको लागि दुरुत्साहन हो। सामन्य झैझगडा, असहमति वा असहयोगको कारणले कसैले आत्महत्या गर्छ भने त्यस्तो कार्यमा दूरुत्साहन आकर्षित हुँदैन। त्यसैले प्रेममा अफसल भए पछि गरिएको आत्महत्यालाई दुरुत्साहन भन्न मिल्दैन किनकी त्यहा कसैलाई मर्न बाध्य परिएको छैन, न कसैलाई आत्महत्या गर्न प्रोत्साहित गर्ने नियत नै हुन्छ। तर प्रेम सम्बन्ध भएका बेला गरिएका कुरा (फोटो, भिडियो वा अन्य कुरा) लाई लिएर कसैलाई लगातार प्रताडित गरिन्छ भने त्यसमा दुरुत्साहन आर्कषित हुन सक्छ।

किताब नल्याएको कारणले शिक्षकले कक्षा बहिर राख्दा आफ्नो अपमान भएको महसुस गरेर विद्यार्थीले आत्महत्या गरेछ भने त्यसलाई दुरुत्साहन मान्न मिल्दैन किनकी शिक्षकको जिम्मेवारी विद्यार्थीले गलत कार्य गरेमा उसलाई सुधार्नु गर्नु हो। (पी.राजामोहन विरुद्ध तामिलनाडु राज्य)।
त्यसै गरि सुपरभाईजरले अतिरिक्त समय काम गराउने, तलब बृद्धि वा तलब रोक्का राख्ने कार्यलाई दुरुत्साहन मान्न मिल्दैन, किनकि यो कार्यले कसैलाई आत्महत्या गर्न प्रेरित गर्दैन। (बैजनाथ खाण्डके विरुद्ध महाराष्ट्र राज्य)

दुरुत्साहन र आत्महत्याको सम्बन्ध प्रत्यक्ष भए पनि दुरुत्साहन गर्न प्रयोग गरिने विधी प्रत्यक्ष वा अप्रत्यक्ष दुबै प्रकारका हुँन सक्छन। धर्म, परम्परा, संस्कृति देखाएर कसैलाई सति जान बाध्य पारिनु पनि आत्महत्याको लागि दुरुत्साहन हो (महाराजा विरुद्ध विद्या सागर पाण्डे)।
त्यसैले आत्महत्या गर्दाका बखतमा कसैको नाम उल्लेख हुनले मात्र कसै माथि आत्महत्याको लागि दुरुत्साहन गरेको प्रमाण हुँन सक्दैन।

प्रतिक्रिया दिनुहोस