चाडपर्वलाई लक्षित गरेर आजबाट सुपथ मुल्य पसल संचालनमा आउने, नुन देखि च्याँग्रा सम्ममा छुट


सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर देशभरमा ७३ वटा सुपथ मूल्य पसल स्थापना गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको हो ।

वाणिज्य मन्त्रालयले दिएको जानकारी अनुसार सुपथ मूल्य पसलको संचालन साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकासले गर्नेछन। जसमध्ये साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्नेछन।

सुपथ मूल्य पसलमा नुन, चामल, चीनी, गेडागुडी, मासु आदीमा छुटको व्यवस्था गरिएकोछ। मोटा चामलमा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, मसिनो चामलमा १० रुपैयाँ, गेडागुडी १० रुपैयाँ प्रतिकिलो छुट दिइनेछ। साथै च्याँग्रा र खसी बोकामा १० रुपैयाँ, डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ प्रतिकिलो छुट दिइनेछ।

साल्ट ट्रेडिङले ३ घुम्ती पसल सहित काठमाडौं उपत्यकामा ११ वटा तथा उपत्यका बाहिर २४ स्थानमा पसल सञ्चालन गर्नेछ। उपत्यका भित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायतका स्थानमा ९ वटा पसल हुनेछन भने उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान लगायतका अन्य सहरमा पसल संचालन हुनेछन।

त्यसै गरि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्याका भित्र ५ र उपत्यका बाहिर १८ वटा पसल, दुग्ध विकास संस्थानले काठमाडौं उपत्यका भित्र ४ र उपत्यका बाहिर ११ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन।

सुपथ मुल्य पसल भदौ २३ गते देखि कात्तिक १६ गतेसम्म सञ्चालनमा रहनेछन।

प्रतिक्रिया दिनुहोस