टेलिकमले बुधबारदेखि २६ सहरमा फोरजी सेवा सुरु गर्ने


काठमाडौं, नेपाल टेलिकमले असोज १५ गते बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । “परीक्षणका धेरै काम सफल भइसकेका छन्” उहाँले भन्नुभयो, “अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गछौँ । टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दैछ । मुख्य सहर अन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगञ्ज , धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ । त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने” उहाँले बताउनुभयो । “हरेक घण्टामा एउटा नयाँ बीटीएस स्थापना भइरहेको हुन्छ” उहाँले भन्नुभयो “बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।

टेलिकमले फोरजी सेवा सुरु गर्न लागेका ठाउँमा आफ्ना प्राविधिक खटाइसकेको छ । बुधबारसम्म पनि ड्राइभ टेस्टलगायतका काम भने जारी हुने छन् । फोरजीको परीक्षण काठमाडौँ सञ्चालन गर्दा अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट प्रविधि चलेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । सेवा सुरु हुन लागेका सबै ठाउँमा फोरजीका लागि आवश्यक यू सीमकार्डको पनि व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । पुराना सिमकार्ड प्रयोगकर्ताले यस्तो सिमकार्ड निःशुल्क साटफेर गर्न सक्ने छन् । ग्राहकले ८१४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो । उक्त सम्झौतामा एक वर्षभित्रमा लक्ष्यअनुसार फोरजी विस्तार गर्ने उल्लेख थियो । फोरजी विस्तारका लागि टेलिकमले करिब १९ अब रुपियाँ लगानी गर्दै छ । टेलिकमले यो परियोजनाबाट
६ लाख फोरजी ग्राहक थप गर्न सक्छ । हाल कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ । नेपालमै पहिलो पटक २०७३ साल पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीका यी दुईवटा सहरमा गरी अहिलेसम्म आठ लाख फोरजी ग्राहक छन् ।

कम्पनीले हाल आठ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत नयाँ स्थानमा फोरजी विस्तार गरिरहेको हो । दुईवटै व्यान्डमा रहेको २० मेगाहर्ज फ्रिक्वेन्सीलाई एकिकृत गरी फोरजी सेवा उपलब्ध गराइने प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । अर्थात् दुवै व्यान्डमा फोरजी सेवा प्रयोग गर्न सक्ने सुविधा रहेका मोबाइल प्रयोगकर्ताले यसबाट लाभ लिन सक्ने छन् । फोरजी सेवा विस्तारबाट ग्राहकले भीओएलटीई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस