नेपाली मिडियामा “तँ, तिमी, तपाईँ, हजुर !” काे प्रयाेग


-साउथ एशिया चेक (www.southasiacheck.org)

अहिले नेपाली सञ्चारमाध्यममा प्रयोग भइरहेका आदरार्थी शब्द “तिमी” र “तपाईँ” लाई लिएर चर्चा चलिरहेको छ । हामीले यहाँ केही सञ्चारमाध्यमले चलाएका चलन बारेमा उल्लेख गरेका छौँ ।

कान्तिपुर दैनिकले २०६२ फागुनसम्म राजनीतिक दलका नेतालाई “तपाईँ” संबोधन गर्ने गरेको थियो । २०६३ भदौमा भने कान्तिपुरले “तिमी” संबोधन गरेको छ ।

यस हिसाबले हेर्दा उसले दोस्रो जनआन्दोलनपछि राजनीतिक दलका नेतालाई “तिमी” भनी संबोधन गर्न थालेजस्तो देखिन्छ ।

कम्युनिष्टहरूको प्रकाशन “मूल्यांकन” ले २०६० चैतमा विद्यार्थी नेतालाई “तिमी” र राजनीतिक दलका नेतालाई “तपाईँ” भनी दुईखाले संबोधन गरेको थियो ।

हिमाल खबरपत्रिकाले २०५६ मंसिर १६ देखि १९ को अंकमा राजनीतिक दलका नेतालाई “तपाईँ” संबोधन गरेको थियो भने २०५८ चैत १६ देखि ३१ को अंकमा “तिमी” संबोधन गरेको थियो । प्रशंशायोग्य काम गरेका मानिसका बारेमा लेखिने स्तम्भ “जनता” मा भने उसले अलि पहिलेदेखि नै “तिमी” संबोधन गरिआएको थियो ।

यसबाट के देखिन्छ भने हिमालले राजनीतिक दलका नेतालाई “तिमी” संबोधन गर्न दोस्रो जनआन्दोलनअघि नै थालेको थियो ।

उज्यालो रेडियो, टिभी र अनलाइनले भने केही अपवादलाई छाडेर अरूलाई “तपाईँ” भनी संबोधन गर्छ ।

बीबीसी नेपाली सेवाले राजनीतिक दलका नेताका बारेमा भन्नुपर्दा “तिमी” को संबोधन गर्छ । तर कुराकानी गर्दा भने उसले “तपाईँ” भनी संबोधन गर्ने गर्छ ।

कुरा गर्ने मान्छे आफू सामुन्ने हुँदा “तपाईँ” र ऊ ओझेल गर्दा “तिमी” भन्ने चलन बीबीसीको मात्र होइन । सेतोपाटी अनलाइन खबरजस्ता अनलाइनले पनि यसै गर्दै आएका छन् । उनीहरूले कुनै मन्त्रीलाई प्रश्न सोध्नुपर्दा “तपाईँ” भनी संबोधन गर्छन् तर त्यही मन्त्रीका बारेमा लेख्नुपर्दा “तिमी” भन्ने गर्छन् ।

नागरिक दैनिक, अन्नपूर्ण पोस्ट् तथा नयाँ पत्रिकाले पनि राजनीतिक दलका नेतालाई “तिमी” को संबोधन गर्ने गर्छन् । तर यिनै संचारगृहले चलाएका कुराकानीमा ‘तपाई’ सम्बोधन गर्छन ।

नेपाली वृहत् शब्दकोशका अनुसार तिमीको अर्थ यस्तो छः द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईँभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द । सोही शब्दकोशका अनुसार तपाईँको अर्थ यस्तो हुन्छः १. औपचारिक प्रसङ्गमा आफू भन्दा मान्य जनलाई ‘तिमी’ भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष एकवचनको आदरार्थी शब्द। (उदाहारण- यस उपलक्ष्यमा तपाईँको उपस्थिति प्रार्थनीय छ तपाईँ घरबाट कहिले पाल्नुभो?) । २. ‘तँ’- को सट्टा व्यङ्ग्यार्थमा प्रयुक्‍त हुने शब्द (उदाहारण- हो, तपाइँकै गोडा मिचेर बस्नुपर्ला!)।

प्रतिक्रिया दिनुहोस