कृषिमा व्यावसायिक बन्दै जानकीका किसान


नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलसम्शेर राणा र उहाँका दाजु सुमेरशम्शेर राणाले जानकी गाउँपालिका–३ मा करीब १७४ बिघा क्षेत्रफलमा फलफूल, माछा, कुखुरा, तरकारीजस्ता कृषिजन्य वस्तुहरुको उत्पादन गर्दै आइरहनुभएको छ ।

प्रमुख हुनुअघि नै त्यस ठाउँमा कृषिकर्मको विकासका लागि काम गरेका प्रमुख राणा आफ्नो खेतबारीमा समय निकालेर पुग्ने गर्नुहुन्छ । राणा परिवारलाई आवश्यक पर्ने खाद्यवस्तु प्रायः आफ्नै उत्पादन हुने गरेको छ । राणा परिवारको कृषिकर्म हेरेर थुप्रै कृषकले अनुसरण पनि गर्ने गरेका छन् । जानकी गाउँपालिका–२ वेलभारका कृषक राजेश बर्मालाई आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्री गरेर जीविकोपार्जन गर्छु भन्ने लागेको थिएन । गाउँमा भन्दा शहरमा कमाइ हुने आशमा उहाँ कमाउनका लागि अन्यत्र नभौँतारिएका पनि होइन । विस्तारै केही त गरौँ भन्ने लागेर थोरै क्षेत्रफल जग्गामा तरकारी लगाउन शुरु गरेका बर्मा अहिले व्यावसायिक कृषकको रूपमा चिनिनुहुन्छ । तरकारी खेतीमा राम्रो आम्दानी हुने भएपछि बर्माले यसैलाई बढाउँदै हाल डेढ बिघा क्षेत्रफलमा व्यावसायिकरूपमा खेती गरिरहनुभएको छ । वडा नं ३ का कृषक लाल मोहम्मद बागवानले पनि तरकारी उत्पादन गरेर आर्थिक आम्दानीसँगै समाजमा मेहनती कृषकको पहिचान बनाउनुभएको छ । तरकारी खेतीमा बागवान परिवारसँगै गाउँका स्थानीयवासीले पनि रोजगारी पाएका छन् । वडा नं १ साइगाउँका आलमिन कवडिया पनि आफूसँगै आफ्नो परिवारलाई आत्मनिर्भर बनाउन तरकारी खेती गरिरहनुभएको छ । कृषक कवडियाले तरकारी बेचेरै आफ्नो घरपरिवारको खर्च धान्नुभएको छ । कवडियाको अर्थिक स्थिति पनि पहिलेको भन्दा निकै सुध्रिएको छ । जानकी गाउँपालिका वडा नं १, २ र ३ का अधिकांश किसान आत्मनिर्भरतातर्फ उन्मुख छन् । अन्य वडामा भने कृषि उत्पादनको अवस्था केही तुलनात्मकरूपमा कमजोर देखिएको छ । कृषि शाखा प्रमुख मनोज मण्डलका अनुसार हाल गाउँपालिका धान, गहँु, मुसुरो, अडहर, तरकारीमा आत्मनिर्भर भइसकेको छ । फलफूल खेतीमा पनि आत्मनिर्भरतातर्फ गाउँपालिका अघि बढिरहेको मण्डलले बताउनुभयो । कृषकमा अझै पनि व्यावसायिकरूपमा अघि बढ्नुपर्छ भन्ने चेतना जाग्न नसकेको कृषि शाखाको प्रगतिको तथ्याङ्कले पनि बताउँछ । “तरकारी खेतीको फार्म दर्ता गरेर व्यवसाय गर्नुपर्छ भन्ने नै सिकाउन जरुरी छ”, शाखा प्रमुख मण्डलले भन्नुभयो, “चेतनाको अभाव भएकैले चाहेजस्तो कृषिमा विकास गर्न सकेका छैनाँै ।” गत आर्थिक वर्षमा गाउँपालिकाले कृषि र पशु सेवाको कार्यक्रमका लागि रु ५० लाखका दरले बजेट छुट्याए पनि यस वर्ष उक्त बजेटलाई कटौती गरेर जम्मा रु १० लाखका दरले मात्र छुट्याएकाले पनि कृषकले चाहेजस्तो सेवासुविधा पाउन नसकेका हुन् । गाउँपालिकामा पछिल्ला दिनमा भैँसीपालन गर्ने कृषकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । भँैसीपालन गरेर दुग्ध उत्पादन बढाएका कृषकले आर्थिक आम्दानी पनि राम्रो गर्दै आएका छन् । वडा नं ४ का लोकनाथ बर्माको पाँच जनाको परिवारले १६ भैँसीपालन गरेर आत्मनिर्भरको बाटो अपनाएको छ । वडा नं ३ इन्द्रपुरका मीनबहादुर अर्याल पनि छ गाई पालेर गरेर व्यावसायिक कृषिकर्ममा लाग्नुभएको छ । दूधमा गाउँपालिका आत्मनिर्भर भइसकेको पशुसेवा शाखाले जनाएको छ । यहाँ उत्पादित दूध नेपालगञ्जसम्म कृषकले बिक्री गर्ने गरेका छन् । पशुसेवा शाखाका प्राविधिक दिलबहादुर खड्काका अनुसार गाउँपालिकाभित्र करीब दुई दर्जन नयाँ भैँसी फार्म दर्ता भएका छन् भने चार गाई फार्म, चार बङ्गुर फार्म, सात कुखुरा फार्म र नौ बाख्रा फार्म दर्ता भइसकेका छन् । व्यावसायिक कृषकलाई अघि बढाउन छुट्याइएको बजेटबाटै निःशुल्क शिविर, घाँसको बीउ वितरण, औषधिलगायतका आवश्यक वस्तुको सेवा दिइरहेको पशुसेवा शाखाले जनाएको छ । “कृषकलाई व्यावसायिकरूपमा अघि बढाउन बजेट अभाव छ । कृषकलाई अनुदान दिनसकेका छैनौँ, स्मार्ट गाउँपालिका बनाउन थप बजेटको आवश्यकता छ”, पशुसेवा प्राविधिक खड्काले भन्नुभयो । गाउँपालिका क्षेत्रका अधिकांश वडामा सिँचाइको व्यवस्था कमजोर भएकाले पनि कृषि क्षेत्रमा चाहेजस्तो प्रगति गर्न नसक्नु समस्या बनेको छ । कृषि तथा पशु सेवाको क्षेत्र विस्तार गर्न सिँचाइको व्यवस्थापन आवश्यक रहेको वडा नं २ का कृषक रक्षाराम बर्माले बताउनुभयो । कृषक बर्मा भन्नुहुन्छ, “मैले लगाएको आँप बगैँचामा पानीको अभावले नै उत्पादनमा बर्सेनि ह्रास हुँदै आएको छ ।” आँप बगैँचालाई बढाउँदै लैजाने योजना भए पनि सिँचाइ, मललगायतका समस्या आएपछि अघि बढ्न नसकेको गुनासो उहाँले सुनाउनुभयो । बर्माले ५० भन्दा बढी आँपका बिरुवा रोप्नुभएको छ । गाउँपालिकाका युवाले आफ्नै ठाउँमा बसेर व्यावसायिकरूपमा पशुपालन, तरकारी खेती, फलफूल खेती गर्न चाहेका छन् । वैदेशिक रोजगारीमा गएकाहरु पनि फर्केर गाउँमै केही गर्न चाहेका छन् । केही युवाले थोरै लगानीमा व्यावसायिक कृषिकर्मको शुरुआत गरेका छन् भने केही युवाले सामूहिकरूपमा कृषि उद्योग सञ्चालन गर्न थालेका छन् । गाउँपालिकाभित्र रहेका कमजोर कच्ची कृषि सडक पनि कृषिको विकासमा केही बाधक बनिरहेको पालिकावासीको गुनासो छ । गाउँपालिकाले सडकको विकासमा प्राथमिकता दिए पनि कृषिको विकासका लागि केही राम्रो योजना बनाउँदै अघि बढ्नुपर्ने स्थानीयवासी बताउँछन् । गाउँपालिकाका अधिकांश जनसङ्ख्यामध्ये कृषिलाई आफ्नो मुख्य पेशा बनाउने किसान धेरै छन् । गाउँपालिकाले समग्र कृषि क्षेत्रको विकासका लागि साना किसानलाई लक्षित गरी नयाँ योजना बनाएर अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको भनाइ छ । ग्रामीणस्तरका किसानलाई लक्षित गरेर सरकारी सेवासुविधालाई सहज बनाउन लागिपरेको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस