चिकित्सक संघको राजनीतिले फेल खाएछ कि मैले बुझिन?


-डा. सुनिल गजुरेल

मैले बुझेको राजनीति त फेल खाएछ कि मैले राजनीति को ‘र’ पनि बुझेको छैन रहेछु? एकछिन घोत्लिन बाध्य बनायो ? अचम्म-अचम्म का राजनीतिक मुभमेन्ट र एक्सर्साइज देखिदै छ यो नेपाल चिकित्सक संघको चुनावमा।
७० बर्षदेखी एकछत्र राज भयो, आर्थिक हिनमिनाको लेखाजोखा गर्छु भन्दै आर्थिक पारदर्शिताको दुहाइ फलाक्दै उफ्रिने नेताज्यू चुनाब जित्नकै लागि एउटा प्यानलमा आफ्नो फोटो चिप्काएर अनी मान्छे चाँही स्वतन्त्र खेमामा भोट माग्दै हिंडेको पनि देखियो । स्वतन्त्रता र निस्पक्षताको वकालत गर्दै स्वच्छ छबी देखाउने दुस्प्रयास गर्दै गर्दा आफ्नो यस्तो आचरणको पारदर्शिता कसरी प्रमाणित गर्छन होला? अझ आफ्नै पिता निर्वाचन आयुक्त बसेर चुनाव भएछ भन्ने पनि सुनियो । मैले जानेको राजनीतिमा त यस्तो प्रवृतिलाई गद्दारसम्म को संज्ञा दिइन्छ तर अब यो डाक्टरको राजनीतिक भाषामा चाँही के भनिने रहेछ खै? यो कत्तिको जायज र कानुनसम्मत कुरा हो? नियमले त त्यस्तो मान्दैन थियो होला? किन कोही बोल्दैनन? स्वच्छ छविका मतियार बनेर विवेकको प्रयोग गरौं भन्दै DSON मा ढोल पिट्ने फेसबूके नेताहरु चाँही यो कुरामा मौन बसेका देख्दा यि पनि सबै अन्धभक्त नै त रहेछन नि भन्ने बुझ्न गार्हो भएन अब।
टिकेट नपाएर वा प्यानलमा नअटेर अथवा चित्त नबुझेर बागी उठेका उम्मेद्वारलाई निर्वाचन आयोगले स्वतन्त्र नै भन्छ क्यारे, यो समान्य कुरा हो । नौलो विल्कुल पनि होइन, अझ जितेर देखाउने बागीलाई त पार्टीले फुलमाला लगाएर स्वागत गर्छ क्यारे । चलेको चलन पनि यही हो ! हार्ने बागिलाई मात्र हो कार्वाही त! स्वतन्त्रनै उठेर चुनाव जितेको उदाहरण खोज्दा भेटिन, ठिकै छ भविस्यमा चुनाव लड्छु भनेर अहिले सल्बलाएका फेसबुके नेता टोलिको राजनीतिक भविस्य पनि यो लिस्टवालाहरुको हारसँगै स्वाहा हुँदा फ्याटर्निटीलाई फाईदै पुग्ला !
युवाको आवाज बेचेर नेता बनेका टोलिको झन कुरा नगरौं। जस्ले जता बजायो उतै थाप्ने टोलि शायद अपरिपक्वताको उपज होला!

अब रह्यो प्यानल टोलिको कुरो
जित्न त पुरै एउटै प्यानलले नै जितेको राम्रो भन्ने मान्यता राख्छु म। एक्लै जितेका विद्वान बाबुराम भट्टराईको अहिलेको रास्ट्रिय राजनीतिमा हालत देख्दा म जस्ता लाखौं युवाहरुको आशा र भरोशा मरेको पक्कै नकार्न सकिदैन, यता पनि हालत उस्तै त हो नि ब्रो !
समय परिवर्तनशील छ। स्थिर रहेको पानी त दुशित हुन्छ भने मान्छे र नेतृत्व दुशित नहुने त कुरै आउँदैन । अझ यो चिकित्सा पेशा त परिवर्तनशिलता को पर्याय नै हैन र ? परिवर्तन आवस्यक छ भन्ने कुरामा कसैको दुइमत नहोला । सरकारले गर्दिएन भन्दै दोश थुपार्ने बाहानाबाजीको विस्लेशण गर्दै गर्दा सरकारले सबैभन्दा विश्वाश त सरकारी चिकित्सकलाई गर्दो रैछ भन्ने यथार्थ मनमा खेल्यो । अनि गोदानकै नेतृत्व गरेर असफल भएकाहरुलाई NMA मा जिताएर के परिवर्तनको आशा राख्नु? सरुवा, बढुवा, अध्ययन, काज, तालिम अनि पद प्रतिष्ठाको खेलमा रमाउने नियतले हामी निमुखाहरुको आवाज दवाइन्छ र हाम्रो अस्तित्व बेचिन्छ, यो ईतिहासले देखाएको सत्य हो । अर्को कुरा सरकार जसको NMA त्यसैको हुँदा डाक्टरको आवाज दवाइन्छ भन्नेहरु पनि तिनै अवशरवादीहरु हुन।
परिवर्तन सरकारले गर्दिनु पर्ने हो रहेछ भने किन एकपटक सरकारवाला प्यानललाई जिताएर नपठाउने त? हेरौं न के के गर्दा रहेछन । गरेनन भने ३ साल पछी अर्को चुनाव आइहाल्छ नि ! हिसाब किताब गरौंला नि पाइ पाइ चुक्ता हुने गरी ! सत्तरी साल परिवर्तनको आशामा एउटालाई मौका दिन सक्ने हामी एकपटक नेतृत्व फेरेर हेरौं न त भनेर सोच्दै थिए, बिहान भात पस्किदै गर्दा बुढि आमाले भनेको डाइलग मानशपटलमा झल्कियो “न PG गरिस्, न पैसा कमाउन सक्याछस, बिहे गर भन्दा नि मान्दैनस, फारम भर्न पैसा घरमा माग्छस, जिङ्ग्रिङ् दारी पालेर हिड्छस जोगी जस्तो झोला बोकेर, के पारा हो छोरा तेरो ?” अनायाशै आँखा रसायो, धेरै ढिला भैसक्यो यार, म जस्ता हजारौं युवाको हालत यस्तै छ यो पेशामा परिर्वतन अहिले नै चहिएको छ भन्दै मुठी कसेर सिरकबाट निस्किए, ढोकाको चुकुल खोलेको बाहिर जाडो रहेछ, फेरी सिरक भित्रै गुटमुटिएर सुतें!

प्रतिक्रिया दिनुहोस