गाउँ पस्यो अख्तियार


गाउँ ललितपुरको दक्षिणी भेकको दुई गाउँपालिकाका दर्जन उजुरी अख्तियारको चासोमा परेका छन् । बागमती गाउँपालिकाले बालुवा खानी सञ्चालन गर्नेलगायत निर्णय गरेको विषयमा उजुरी परेको छ । खानीखोला हाइड्रोपावरको लगानी जोखिममा परेको, स्थानीय विद्यालय तथा जनमानसले उपभोग गर्ने खानेपानीको स्रोत प्रदूषित भएकोलगायत नागरिक समस्यालाई बेवास्ता गर्दै प्रारम्भिक वातावरणीय परीक्षणसमेत गराएको नाममा उद्योग सञ्चालन अनुमति दिने गाउँपालिका गाउँसभा , गाउँपालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृतलगायतलाई विपक्षी बनाएर उजुरी दर्ता भएको हो । गाउँपालिकाले वातावरणीय परीक्षण गराएको ठाउँ र उत्खनन भएको ठाउँ फरक भएकाले पनि कारबाहीको माग गरिएको छ ।

यता, महांकाल गाउँपालिकाको शिक्षासम्बन्धी निर्णयविरुद्ध भने अदालतमा मुद्दा परेको छ । गाउँसभा, गाउँपालिका अध्यक्ष, शिक्षा समिति संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा माघ २२ गते अख्तियार उत्प्रेषण समेतको माग गर्दै सन्तोष तिमल्सिनाले हालेका हुन् । सर्वोच्चमा दायर मुद्दामा संघीय शिक्षा ऐनको प्रावधानसँग बाझिने गरी कानुन बनाएर शिक्षक सरुवा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन तथा प्रधानाध्यापक नियुक्तिलगायत काम गरेको भन्दै संघीय र प्रदेश ऐनविपरित भएकाले स्थानीय शिक्षा ऐन खारेजीसहितको माग गरिएको छ ।

स्थानीय तहका अध्यक्ष रामचन्द्र दाहालले भने जोकोहीले जहाँसुकै मुद्दा दर्ता गरेपनि ५ वर्ष महाँकालमा नियम नमान्नेले गाउँपालिका क्षेत्र छाडेर गए हुन्छ भन्दै आफूलाई धम्क्याएको स्थानीय शिक्षक, व्यवसायीको गुनासो छ । स्थानीय कृषि तथा अन्य व्यवसायमा लागेकाहरूलाई जबर्जस्ती विविध नाममा कर लगाएको विषयमा गुनासो गर्दा अध्यक्षले कर नतिर्नेलाई गाउँपालिकाभित्र बस्ने अधिकार नभएको भन्दै हपारेको उनीहरूले बताएका छन् । स्थानीय तहको अधिकारका रूपमा गाउँपालिकाले धुरीकरबापत प्रतिधुरी पाँच सय रुपैयाँ र अन्य विविध कर तोकेको छ । (जनआस्था साप्ताहिकबाट साभार गरिएको)

प्रतिक्रिया दिनुहोस